
चरिकोट - दोलखाका एक युवकले विश्व शान्तिको कामना गर्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको पैदल यात्रा सम्पन्न गरेका छन् । कालिन्चोक गाउँपालिका वडा नम्वर ३ का २१ वर्षिय अभिनय कार्कीले ३७ दिनमा मेचीमहाकाली पैदल यात्रा सम्पन्न गरेका हुन् ।
उनले आफ्नो जन्मदिनको अवसर पारेर गत फागुन ६ गते मेची पुलवाट पैदल यात्रा सुरु गरेका थिए । उक्त यात्रा चैत्र २७ गते महाकाली स्थित नेपाल भारत सिमाना गड्डा चौकी स्थित सिमा स्तम्भ ८०५–१९७० मा पुगेर यात्रा पुरा गरेको कार्कीले बताए ।
विश्वभर सुख, शान्ति, सम्वृद्धी र राष्ट्रय एकताको सन्देश प्रवाह गर्ने उदेश्यले एकसय भन्दा बढी देशको राष्ट्रय झण्डा बोकेर उनी पैदल यात्रामा निस्किएका हुन् । कार्कीले ३७ दिनको अवधिमा मेची देखि महाकाली सम्म करिब १२ सय किलोमिटर पैदल यात्रा गरे । यसैबीच कार्कीले अबको केहीदिनपछि नेपालका ७७ ओटा जिल्लामा १०० दिनमा साइकल यात्रा गर्ने योजना रहेको जानकारी पनि दिए ।