
चरिकोट - दोलखाको विगु गाउँपालिकमा योद्धा गाडी दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको भने १८ जना घाईते भएका छन् । प्रदेश नं ३–०३–२३ च ७५८० नम्बरको योद्धा गाडी नामले चिनिने जिप गएराति करिब साढे १० बजेको समयमा विगु गाउँपालिका वडा नम्बर ४ स्थित चार गोलाई भन्ने स्थानमा दुर्घट्ना भएको हो । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का २४ वर्षिय चण्डीका थापा, ४५ अजिता खत्री, ५२ वर्षिय राधा खड्का र ३५ वर्षिय विनोद केसि रहेका छन् ।
३ जनाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा रोल्वालिंग सामुदायिक अस्पताल सिंगटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गाडीमा २२ जना सवार रहेका थिए । जसमध्ये ४ जनाको मृत्यु भएको हो । १८ जना घाईते मध्ये ५ जनाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन कोईरालाले जानकारी दिए ।
दुर्घट्नामा वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्कासहित १८ जना घाईते भएका छन् । विगु ३ बुलुङका ५५ वर्षिय चेत विक्रम खड्का, ६० वर्षीय चन्द्रकुमारी खड्का, १९ वर्षीय लक्ष्मी बढाथोकी, ४० वर्षीय लक्ष्मी बुढाथोकी, २९ वर्षीय सुस्मिता श्रेष्ठ रहेका छन्।
यसैगरी विगु ४ लादुकका ४० वर्षीय तुलकुमारी श्रेष्ठ, ५७ वर्षीय प्रितमदेवि कार्की, कविता खड्का, तुलकुमारी श्रेष्ठ, ११ वर्षीय शेर बहादुर श्रेष्ठ, २७ वर्षीय सविना खड्का, तीर्था कुमारी खड्का र कान्छी माया श्रेष्ठ घाइते भएका छन् । सिंगटीका १० महिने बालक केदार वली र बिगु गाउँपालिकाकै किशोर खड्का, उर्मिला खड्का र सलोम खड्का दुर्घटनामा घाईते भएका छन् ।
१० जना घाईतेहरुलाई काठमाण्डौंको विभिन्न अस्पतालमा रिफर गरिएको र अन्यको सदरमुकाम चरिकोटको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । एक जना वालकको अवस्था सामान्य रहेकाले घर पठाईएको छ । उक्त गाडी सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको हो । सिंगटीबाट घर फर्किनेहरु चढ्दा यात्रुको संख्या बढेको बताईएको छ । उक्त सवारी साधन सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।
घाईतेहरुलाई स्थानीय र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पठाएको थियो । वस अनियन्त्रित भई दुघर्टना भएको बताईएपनि कारण खुलिसकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ ।