Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पुर्व लडाकुसहित ३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

काठमाडौं - सरकारले राजनीतिक परिवर्तनका क्रममा योगदान पुर्याउने ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान दिएको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी जनयुद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्र योद्धाको रुपमा सम्मान दिईएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा वादलले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे ।

२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई प्रधानमन्त्री ओलीले लाईभ भिडियोबाट लोकतन्त्र योद्धाका रुपमा सम्मान गरे । उनलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका छन् ।

लोकतन्त्र प्राप्तीका लागि बिशिष्ट योगदान दिनेहरुलाई सुरु गरिएको सम्मान ७७ वटै जिल्लामा गरिने परराष्टमन्त्री समेत रहेन लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक प्रदिप ज्ञवालीले बताए ।

जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले यसअघि माओवादी नेतृत्वको सरकारले गर्न नसकेको काम वर्तमान सरकारले गरेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update