
काठमाण्डौं - मन्त्री परिषद बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएको छ । संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गरेर खोल्ने वा बन्द गर्ने भन्ने विषयमा अन्योल थियो ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुनेछन् । बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन गरिनेछ ।
त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।