Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशी आयोजना उद्घाटनको तयारी, सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ

चरिकोट - ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटनको तयारी गरिएको छ । यही वैशाख मसान्तसम्म विद्युत उत्पादनको तयारीसंगै प्रधानमन्त्री केपी शर्मा ओलीबाट आयोजनाको उद्घाटन गर्ने तयारी भएको हो ।

आयोजनाको मुख्य सूरुङमा पानी खसाल्ने कामको बिहिवार शुभारम्भ गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केहीदिनभित्रै प्रधानमन्त्रीले आयोजनाको औपचारिक उद्घाटन गर्ने जानकारी दिए । मन्त्री गुरुङले सुरुङमा पानी हाल्ने काम शुभारम्भ गर्ने क्रममा नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण भएको टिप्पणी गरे ।

आयोजना संचालनमा आउनु नेपाल राष्ट्र र नेपाली जनताको गौरबको विषय भएको उल्लेख गर्दै उनले तामाकोशी आयोजना मुलुक समृद्धिको लागि कोशेढुंगा हुने बताए । प्रधानमन्त्रीको मार्ग निर्देशन र उर्जामन्त्री टोपबहादुर रायमाझीले कुशल नेतृत्व तथा आयोजनाका पदाधिारी, कर्मचारी, मजदुरहरुको अथक मेहनतले यो सम्भव भएको भन्दै उनले सबैलाई धन्यवाद व्यक्त गरे ।

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङले पानी खसाल्ने कामको संयुक्त शुभारम्भ गरेका हुन् । 

प्रधानमन्त्री ओलीले एकसाताअघि काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै अब मान्य नहुने चेतावनी दिएका थिए । । त्यसपछि आयोजनाका पदाधिकारी, कर्मचारी अहोरात्र खटेर बैशाख महिनाभित्रै विद्युत उत्पादन गर्ने तयारीमा जुटेका छन् ।

बहुप्रतिक्षित माथिल्लो तामाकोशी आयोजना स्वदेशी लगानीको हालसम्मकै सवैभन्दा ठूलो आयोजना हो । दुई मन्त्रीसहितको टोलीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको गोंगरस्थित विद्युत गृह, जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकन समेत गरेको छ ।

आयोजनाको सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीले गर्ने तय भएको थियो । तर रायमाझीलाई कोरोना संक्रमण भएपछि अन्य दुई मन्त्रीले शुभारम्भ गरेका हुन् । मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्गको पनि स्थलगत निरीक्षण गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update