
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै एकजुट भए मात्रै कोरोनाभाइरस विरुद्धको लडाई जित्न सकिने बताएका छन् । राजनीतिक दल लगायत सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै उनले नकारात्मक आरोप प्रत्यारोपमा मात्रै उत्रिनुले देश र जनताप्रतिको दायित्व पुरा नहुने बताए ।
देश कोरोना महामारीको चपेटामा छ, तर कतिपयलाई सरकारको नकारात्मक बिरोध र आलोचना गर्ने मात्रै ध्याउन्न छ, त्यसो भन्दापनि सकारात्मक ढङ्गबाट आ आफ्नो ठाउँबाट एक जुट भएर सहयोग गर्नुपर्ने आवश्यकता छ, सरकारका प्रवक्ता समेत रहेका गुरुङले भने ।
मन्त्रालयद्वारा बिहिवार आयोजित निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकहरुसँग भएको अन्तरक्रियाका क्रममा उनले एकले अर्कालाई मानविय रुपमा सहयोग गर्ने, बाँच्ने र बचाउने बेला भएको भन्दै एकजुट हुन आग्रह गरे ।
मन्त्री गुरुङले महामारीको बेला आउने भ्रामक समाचारले समस्या सिर्जना गर्नसक्ने भन्दै कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने सुझाव पनि दिए । केही मिडियाले जनतालाई आतङ्कित गर्ने गरी समाचार सम्प्रेषण गर्ने गरेका छन्, यो राम्रो होईन, कोरोनाबाट बच्ने विषयवस्तु सम्प्रेषण गर्नु मिडियाको दायित्व हो, उनले भने ।
मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ ।
मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको प्रतिनिधित्व रहनेगरी सचिवालय पनि गठन गर्ने तयारी गरेको छ ।