Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना बिरामी बोक्न चार वटा एम्बुलेन्स ईस्ट्यान्डवाई, अटेर गरे कारबाही

चरिकोट – दोलखामा कोरोना संक्रमित लगायतका बिरामीलाई बोक्न अटेर गर्ने एम्बुलेन्स र त्यसका चालकलाई कारबाही गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिरामी बोक्न ईन्कार गर्ने वा ढिलासुस्ती गर्ने एम्बुलेन्स र त्यसका चालकलाई कानुन अनुसार कारबाही गर्ने, एम्बुलेन्सलाई नियन्त्रणमा लिने दर्ता खारेजीसम्मको कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले ४ वटा एम्बुलेन्सलाई अलर्टमा राख्ने निर्णय गर्दै सोही अनुसार कार्य गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मातहत रहनेगरी दोलखा समुदायिक अस्पताल, च्छोरोल्पा अस्पताल, विगु गाउँपालिका र गजेन्द्र स्मृति फाउण्डेशनको एक/एक वटा एम्वुलेन्सलाई डेडिकेटेड एम्बुलेन्सको रुपमा खटाउने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उक्त एम्वुलेन्सबाट सेवा लिन प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एम्वुलेन्स चालकहरुलाई पिपिई सहितका व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन र उनीहरुलाई संयुक्त कोषबाट व्यहोर्नेगरी खानबस्न र काठमाण्डौंसम्म प्रतिटिभ एक हजार र स्थानीय स्तरमा ५ सय रुपैयाँ ईन्सेटिभको व्यववस्था मिलाईएको छ ।

यस्तै सोही कोषबाट व्यहोर्नेगरी उनीहरुको स्वास्थ्य विमा समेत गरिनेछ । दोलखा जिल्लामा उक्त ४ वटा एम्वुुलेन्स बाहेक अन्य १६ जना एम्बुलेन्सहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update