दोलखामा कोरोना संक्रमित थप एक वृद्धाको मृत्यु

चरिकोट - दोलखामा कोरोना संक्रमण पुष्टि भएकी एक बृद्धाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोक्कर घर भएकी ८० वर्षिया बृद्धाको मंगलवार मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि चरिकोट अस्पताल भर्ना गरिएको थियो । ती बृद्धको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा मंगलवार दिउँसो पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
स्वास्थ्यमा सुधार नभएपछि परिवारको सल्लाह अनुसार डिस्चार्ज गरी घर लैजाने क्रममा उनको मृत्यु भएको हो । उनको परिवारका सदस्य मात्रै उपस्थित भएर दाहसंस्कार गरेको बताईएको छ । यसअघि सोमवार मात्रै कालिञ्चोक गाउँपालिकाका एक जना ५० वर्षिय कोरोना संक्रमित पुरुषको चरिकोट अस्पतालमै मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ १९:१५
प्रतिक्रिया दिनुहोस्