
काठमाण्डौं - कोरोना संक्रमणका कारण निधन भएका दोलखाका लोकप्रिय नेता एवं वाग्मती प्रदेशका सांसद पशुपति चौलागाईको अन्त्यष्टि गरिएको हो । चौलागाईको काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको थियो । उनको बुधवार विहान पशुपति शवदाहगृहमा अन्त्येष्टि गरिएको हो ।
चौलागाईको पार्थिव शरिरमा एमाले वागमती इन्चार्ज समेत रहेका गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर अन्तिम श्रद्धाञ्जली दिए ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले चौलागाईंको पार्थिव शरीरमा अस्पताल पुगेर राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेता चौलागाईँ दोलखा २ नम्बर क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
यसैबीच, दोलखाका प्रतिनिधिसभाका सांसदसमेत रहेका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईंको निधनप्रति गहिरो दुुःख व्यक्त गरेका छन् । गुरुङले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताएका छन् । स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।