
चौतारा - सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ९ महिनाको अवधिमा ७७ करोड राजस्व संकलन भएको छ । तातोपानी नाका कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालनमा छ । चीन र नेपाल सीमाको उक्त नाकाबाट नयाँ मोडालिटी अनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको हो ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले दैनिक आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको जानकारी दिए । उनका अनुसार गत साउनदेखि वैशाखसम्म ७७ करोड राजस्व संकलन गरिएको हो ।
यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो । त्यसलगत्तै सावधानी अपनाउन नयाँ प्रयोग गर्दै सिल्क ट्रान्सपोर्ट कम्पनीका ५ वटा ‘ट्रेलर’ कन्टेनरबाट सामग्री भित्र्याउन सुरु गरिएको हो । भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ ।
उक्त नाकाबाट आर्थिक वर्ष २०७६र७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । त्यसबेला दिनहुँ ५० कन्टेनर भित्रिने गरेका थिए । २०७६ पुसमा चीन क्षेत्रमा कार्यरत केही कामदारमा कोरोना देखिएपछि नाका पूरै ठप्प बनेको थियो । संकटको बेला ९ महिनामै ७७ करोड राजस्व संकलन हुनुलाई अधिकारीहरुले सन्तोषजनक मानेका छन् ।