
चरिकोट – भीमेश्वर नगरपालिकाले कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि सहुलियत दिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिका लागि पोषण खर्च र एम्वुलेन्स खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले नगरभित्रका नागरिकलाई कोरोना संक्रमण देखिएमा पोषण खर्च वापत प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार संक्रमित विरामीलाई उपचारका लागि अन्यत्र लैजानु परे एम्वुलेन्स खर्च वापत ८ हजार रुपैयाँ दिईनेछ । यस्तै कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई सामाजिक कार्य गर्न १५ हजार रुपैयाँ दिने निर्णय नगरपालिकाले गरेको छ ।
कोरोना संक्रमितहरुको उपचारका लागि भीमेश्वर नगरपालिकाले ४० बेडको आईसोलेसन वाड संचालनमा ल्याएको जनाएको छ । भीमेश्वर नगरपालिकामा हाल ९५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।