Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना संक्रमितलाई निशुल्क एम्वुलेन्स र पोषण खर्च, क्वारेन्टाईन बस्नेलाई दैनिक भत्ता

चरिकोट – दोलखाका स्थानीय तहहरुले कोरोना रोकथाम र नियन्त्रणका सन्दर्भमा धमाधम नयाँ निर्णय गर्न थालेका छन् । कालिञ्चोक गाउँपालिकाले कोरोना रोकथाम र संक्रमितहरुलाई राहात प्रदान गर्नेबारे विभिन्न ६ वटा महत्वपुर्ण निर्णय गरेको छ ।

गाउँपालिकाले जनाए अनुसार पालिका भित्रका संक्रमितहरुलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने, पोषण खर्च वापत एक हजार रुपैयाँ उपलव्ध गराउने, भारत लगायत तेस्रो मुलुकबाट आई तोकिएको क्वारेन्टाईनमा बसेका नागरिकहरुलाई दैनिक ४ सय भत्ता उपलब्ध गराउने लगायतका निर्णय गरिएको छ ।

यसैगरी सिंगटी अस्पतालमा अक्सिजनसहित १५ बेडको आईसोलेसन कक्ष निर्माण गर्ने, डिसिसिएमसीको मातहत संचालन हुनेगरी एक वटा एम्वुलेन्स र एक विद्यालय नर्स पठाउने र कालिका मावि सुन्द्रावतीमा ३० बेड र जाल्पाश्वरी मावि बावरेमा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको छ ।

कालिञ्चोक गाउँपालिकामा कोरोनाको दोस्रो लहर सुरु भएपछि हाल २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गाउँपालिका वडा नम्बर ८ का एक वृद्धको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update