
चरिकोट - विरामी आमालाई भेट्न पोखराबाट काठमाण्डौं फर्किने क्रममा दोलखाको शैलुङका एक युवकले दुर्घटनामा परी ज्यान गुमाएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भई नेपाली सेनाकोमा कार्यरत २७ वर्षिय सुरज बुढाथोकीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
इन्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत बुढाथोकी काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नी आमा विरामी भएर उपचारका लागि काठमाडौं लगिएपछि उनी विदा लिएर काठमाडौं आउँदै थिए । बागमती प्रदेश २–०१८ प ७८९३ नम्बरको उनी सवार मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ग १ क २८७७ नम्बरको टिपरले आवुखैरेनी गाउँपालिका वडा नम्बर २ खानीखोलास्थित पृथ्वी लोकमार्गमा ठक्कर दिएको वताईएको छ ।
उक्त दुर्घटनापछि गम्भिर घाईते भएका बुढाथोकीलाई तत्काल उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएको थियो । सोही अस्पतालमा बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका एक मात्र छोरा रहेका मृतक बुढाथोकीका श्रीमती र एक छोरा छन् । सोही मोटरसाइकलमा सवार अर्का युवक गम्भिर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।