
चरिकोट - दोलखाको उत्तरी क्षेत्रको सिंगटीमा कोभिड अस्पताल संचालनमा ल्याईएको छ । ग्रामिण क्षेत्रमा पनि कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि कालिञ्चोक गाउँपालिका ३ स्थित सिंगटीमा कोभिड अस्पताल संचालनमा ल्याईएको हो ।
विगू र गौरीशंकर गाउँपालिकाको सहकार्यमा सिंगटीमा २५ शैयाको कोभिड अस्पताल संचालनमा ल्याईएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले जानकारी दिए ।
ग्रामिण क्षेत्रबाट सदरमुकाम पुर्याउँदासम्म बिरामीको मृत्यु हुनसक्ने जोखिमलाई मध्येनजर गर्दै अस्पताल संचालनमा ल्याईएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विगू गाउँपालिकामा मात्रै घरमा आईसोलेसन बेसेका दुई र अस्पतालमा उपचारका क्रममा लैजाने क्रमा दुई गरी चार जना संक्रमितको मृत्यु भैसकेको छ ।
त्यस्तो जोखिम न्यूनीकरण गर्न अस्पताल संचालनमा ल्याईएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । उनका अनुसार उक्त अस्पतालमा चारजना मेडिकल अधिकृत सहितको स्वास्थ्य जनशक्ति खटाईएको छ ।