
काठमाडौं - संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको पहलमा दोलखाको दुई अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ठुलो रकम विनियोजन भएको छ ।
सदरमुकाम स्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न २ करोड ३५ लाख वजेट विनियोजन भएको हो । जसमाच चरिकोट अस्पतालका लागि रु. एक करोड ५५ लाख र जिरी अस्पतालका लागि ८० लाख रुपैयाँ रहेको छ ।
सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएकोमा दोलखाको दुई स्थान पनि प्राथमिकतामा परेको हो ।
यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु. २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरुप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।