
चरिकोट - राष्टिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सफल भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ सुरु गरेको हो । सोमबारबाट वेट टेस्टको नतिजा सकारात्मक आएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक परीक्षण गरिनेछ ।
यसअघि परीक्षणका लागि भरिएको दुई आयोजनाको ठाडो सुरुङ जोड्ने पेनस्टकको ‘म्यानहोल’ सामान्य चुहावटको समस्या देखिएको थियो । उक्त समस्या समाधान गरेर आयोजनाले टर्वाइन चलाएर ‘वेट टेस्ट’ को काम अघि बढाएको हो ।
अब सुरुङको सुपरीवेक्षण गरेर फेरि पानी भरिने आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । उनका अनुसार अहिले पानी भर्न बन्द गरेर चुहिएको मेकानिकल गेट मर्मतको काम चलिरहेको छ ।
‘वेट टेस्ट’ आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण हो । विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारेर यो काम सम्पन्न गरिन्छ ।
विद्युत उत्पादन नै नगरिएपनि त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चलेरनचलेको हेर्ने गरिन्छ । आयोजनामा गत वैशाख १६ मा सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो ।
जेठ मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन शुरु हुनेछ र असारसम्ममा सबै युनिटबाट व्यावसायिक उत्पादन सुरु हुने आयोजनाका अधिकारीहरुको दावी छ । आयोजना निर्माण कार्य लम्बिँदै जाँदा अनुमानित लागत आकाशिएर करिब ८० अर्ब पुग्ने अनुमान छ । यो आयोजनालार्य गेमचेन्जर आयोजनाको रुपमा लिईएको छ ।