
काठमाण्डौं - नेकपा एमाले नेता एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलले कांग्रेस सांसद नरोत्तम वैद्यको अभिव्यक्ति बिपक्षी गठबन्धनको षड्यन्त्र अनुसार अनुसार आएको दाबी गरेका छन् ।
विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक रुपमा सफाई गर्ने षड्यन्त्र गरिरहेको सूचना प्राप्त भएर सुक्ष्म अध्ययन भैरहेका बेला कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम बैद्यले दिएको अभिव्यक्ति संयोग मात्र नभएको उनले बताए ।
कांग्रेस सांसद वैद्यले शुक्रवार प्रदेशसभामा बोल्ने क्रममा प्रधानमन्त्री ओलीलाई त्यत्तिकै छोड्न नहुने भन्दै महात्मा गान्धिलाई हत्या गर्ने नाथुराम गोड्से जस्तै बन्ने अभिव्यक्ति दिएका थिए । एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष समेत रहेका पोखरेलले आपत्तीजनक अभिव्यक्ति दिने सांसद वैद्यलाई तत्काल निलम्बन र पक्राउ गरी मुद्धा चलाउन माग गरेका छन् ।
'यो विषय सामान्य व्यक्तिले लहडमा मात्र बोलेको होईन, यसमा गम्भिर षड्यन्त्र लुकेको छ, पोखरलले भने सत्यतथ्य पत्ता लगाउन शक्तिशाली आयोग बनाउन माग गर्दछु ।" हत्या जस्तो गम्भिर अपराधको वकालत गर्ने सबैलाई कानूनको दायरामा ल्याई ज्यान मार्ने उद्योगको मुद्धा चलाउनुपर्ने उनको माग छ ।