
चरिकोट - दोलखामा कोरोना संक्रमणदर ह्वात्तै घट्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अपडेट गरिरहेको दैनिक तथ्यांक विवरण अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ७७ मा झरेको छ । जसमध्ये ६ सय ५२ जना होम आईसोलेसन र २५ जना अस्पतालमा छन् ।
सक्रिय संक्रमितको संख्या केहीसाता अघिसम्म झण्डै साँढे ८ सयको हाराहारीमा पुगेको थियो । पीसीआर परीक्षणपछि कोरोना संक्रमण हुनेहरुको संख्या पनि घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । केहीदिन यताको तथ्यांक हेर्दा संक्रमण दर लगातार घट्दो अवस्थामा छ ।
आईतवार सार्वजानिक गरिएको विवरण अनुसार ५४ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १२ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । दोब्बर संख्या अर्थात २६ जना संक्रमण मुक्त भएका छन् । शनिवार ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा २० जनाको रिपोर्ट मात्रै पोजेटिभ आएको थियो । दुईदिन अघिको विवरणमा १८ जना नयाँ संक्रमित हुँदा ५० जनाले कोरोना जितेका थिए ।
हालसम्म जिल्लामा जम्मा एक हजार ८ सय ६५ जनामा संक्रमण देखिएकोमा १ हजार १ सय ७९ जना निको भएको डिएओको तथ्यांक छ । जिल्लामा कोरोना संक्रमित ९ जनाको मृत्यु भएको छ । जसमा ९ परुष र ३ जना महिला रहेका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लामा जारी गरेको निषेधाज्ञा सोमवार सकिँदैछ ।