
चरिकोट - दोलखा जिल्लासँग सिमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा भारी बर्षापछि नदीको वहाव बढ्न गई खतरा उत्पन्न हुनसक्ने चेतावनी दिईएको छ । तिब्बततर्फ ठुलो वर्षासँगै पहिरो गएर नदी थुनिएको सूचना आएपछि यस्तो चेतावनी दिईएको हो ।
स्थानीय प्रशासनले कुनैपनि बेला बाढी आउने खतरा रहेको सूचना जारी गर्दै तामाकोशी नदी तटिय क्षेत्रका बासिन्दार्लाइ उच्च सतर्कता अपनाउन भनेको छ ।
सूचनामा दोलखासँग सिमा जोडिएको चीनको टिङग्री कन्ट्रिको रोङछिया शहर र र आसपासको क्षेत्रमा अविरल वर्षापछि पहिरो गएर नदीको बहाव रोकिएको सूचना प्राप्त भएको उल्लेख छ । जसका कारण तामाकोशीमा जुनसुकै बेला बाढी आउनसक्ने प्रशासनले सूचित गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार चीनतर्फका अधिकारीहरुसँग भएको कुराकानी र प्राप्त सूचनाका आधारमा सूचना जारी गरिएको हो । चीनको तिब्बततर्फ भारी वर्षा हुँदा नेपालतर्फ बग्ने नदीमा पानीको बहाव बढ्ने गर्दछ ।
यसैबिच माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ईन्जिनियर विमल गुरुङले हालसम्म नदीमा पानीको बहाव घटेको वा बढेको अवस्था नरहेको बताएका छन् ।