
चरिकोट - दोलखा स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गरिँदैछ । तामाकोसीसँग जोडिएको चीनतर्फको खोला पहिरोले थुलिएपछि तटिय क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै जलाशय खाली गरिएको हो ।
भारी वर्षापछि गएको पहिरोका कारण रोङ्सी खोलाखोला थुलिएपछि तामाकोसी नदी ड्यामको पानी छाडिएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीसँग जोडिएको रोङ्सी खोला थुनिएपछि सम्भावित जोखिम रोक्न यस्तो कदम चालिएको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले कुनै पनि वेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको जानकारी दिए । तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झारिनेछ । तामाकोसीको बाँधले ५ हजार घनमिटरसम्मको बाढी थेग्न सक्छ ।
स्थानीय प्रशासनले शुक्रबार राति नै सार्वजानिक सूचना जारी गर्दै चीनको तिङ्ग्री सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर तामाकोसी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
खोला थुनिएपछि माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा पानीको वहाव घटेको जनाईएको छ । लप्ची नजिकै ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको प्रजिअ घिमिरेको भनाई छ । तामाकोसीमा पानीको वहाव निरीक्षण गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाईएको छ ।