काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले सम्बन्धविच्छेदको कागज सार्बजनिक गरेका छन् । रास्वपाको आधिकारिक उम्मेदवार बनेसँगै बहुविवाहको प्रश्न उठेपछि उनले सम्बन्धबिच्छेदको कागज सार्बजनिक गरेका हुन् । उनले बहुविवाह गरेर मुद्दा परेपछि सम्बन्धविच्छेद गरेको पाईएको छ ।
उनले सार्वजनिक गरेको कागजको अंशमा कुन पत्नीसँग सम्बन्धविच्छेद गरेको र किन गरेको भन्ने खुलेको छैन। अदालत स्रोतका अनुसार डा. लेखजंग थापाविरूद्ध उनकी कान्छी पत्नी नुमा शर्माले मुद्दा दर्ता गरेकी हुन् । लेखजंगका छिमेकीहरूले नुमा कान्छी पत्नी भएको बताएका छन्।
अदालतमा दर्ता गरेको मुद्दानुसार उनीहरूबीच २०७० सालमा विवाह भएको र २०७१ असोज १९ गते छोराको जन्म भएको उल्लेख छ। थापाकी पत्नी नुमाले दायर गरेको मुद्दामा २०७९ साल पुस २० गते आफूलाई खान–लगाउन केही पनि नदिई शारीरिक र मानसिक यातनासमेत दिई घरबाट निकालेको उल्लेख छ।
यो मुद्दा परेपछि लेखजंगले कान्छी पत्नीसँग अदालतमै गएर २०७९ माघ १५ गते मिलापत्र गरेर सम्बन्धविच्छेद गरेका थिए ।
लेखजंगले पहिलो पत्नी सुलोचना घिमिरेसँग विवाह कायम रहेकै बेला दोस्रो पत्नी नुमासँग विवाह गरेको र बच्चासमेत भएको देखिएको छ ।